ललितपुर / गिम्दी
बागमती गाउँपालिका वडा नं. ७ मा गठित वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा तेस्रो कार्यक्रम श्री मनकामना आधारभूत विद्यालय नागटारमाअ सम्पन्न भएको छ । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने तथा नेपालको विविध सांस्कृतिक परम्परा र नृत्यबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम श्री मनकामना आ.वि. का प्रधानाध्यापक रेशम बहादुर ढोडारीले सञ्चालन गरेका थिए भने अतिरिक्त क्रियाकलाप समिति संयोजक पशुपति ज्ञामी मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, प्रतिनिधि शिक्षकहरू, लुनिभा तथा रिड नेपाल संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्री होम प्रसाद बजगाईंले विद्यार्थीहरूको प्रतिभाको उच्च प्रशंसा गर्दै आगामी दिनमा विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि योजना बनाएर केही बजेट वा आवश्यक सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका अतिथि तथा सल्लाहकार, नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद सञ्जेलले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै विभिन्न संस्कृतिबारे जानकारी दिलाउने बताए । साथै, विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि बजेट अभावको समस्या रहेको कुरा पनि उनले औँल्याएका छन् । त्यसैगरी, अतिथि तथा सल्लाहकार, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण बहादुर फुँयालले विद्यार्थीहरूको प्रतिभालाई सम्मान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि बजेटको अभाव भइरहेको धारणा राखे । 
कार्यक्रममा वडा सदस्य मदन आले, वडा सचिव अनिल गिरी, लुनिभाका मनोज दुलाल तथा रिड नेपालका तालिम अधिकृत मञ्जु खनियाले कार्यक्रमको प्रशंसा गर्दै यसको सफलता र निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमअन्तर्गत विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका थिए। खुल्ला नृत्य प्रतियोगिता (कक्षा १–५) तर्फ नारायणी माध्यमिक विद्यालय प्रथम, मनकामना आधारभूत विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय तृतीय भएकाे जानकारी अतिरिक्त क्रियाकलाप समितिका सचिव तथा जनक माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिमल्सिनाले बताए। त्यस्तै, सांस्कृतिक नृत्य प्रतियोगिता (कक्षा ६–८) तर्फ मगर समुदायको मारुनी नाच प्रस्तुत गर्दै नारायणी माध्यमिक विद्यालय प्रथम भएको छ भने बालन वा खैजेडी भजन नृत्य प्रस्तुत गरेको नारायणी माध्यमिक विद्यालय नै द्वितीय, तामाङ सेलो नृत्य प्रस्तुत गरेको जनक माध्यमिक विद्यालय तृतीय तथा मध्यपश्चिमका गुरुङ र मगर समुदायको कौरा नाच प्रस्तुत गरेको जनक माध्यमिक विद्यालय नै चौथो भएको उनले जानकारी गराए ।
प्रतियोगिताका निर्णायकहरूमा रिड नेपाल संस्थाका मञ्जु खनिया, स्थानीय कलाकार तथा नृत्य र अभिनय क्षेत्रमै सक्रिय विनिता दाहाल, वडा प्रतिनिधि सबिना आले मगर र स्थानीय शिक्षक विष्णुमाया स्याङ्तान रहेका थिए । कार्यक्रम समापन गर्दै अतिरिक्त क्रियाकलाप समितिका संयोजक पशुपति ज्ञामी मगरले सबैलाई धन्यवाद दिँदै अबको अर्को कार्यक्रम श्री जनक माध्यमिक विद्यालयमा गरिने बताए । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।




